images

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

काठमाडौं–गए राति परेको अविरल वर्षासँगैको आएको पहिरोले सङ्खुवासभामा तीन घर बगाएको छ । जिल्लाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तीमा गाउँमा पहिरोले तीन घर बगाएको हो । पहिरोमा परी एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोले कोक्तीमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेकी निमित्त प्रहरी प्रमुख लामिछानेले बताए। उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। कालोपत्रे गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पर्दछ ।

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब एक करोडको क्षति भएको जनाइएको छ ।