images

नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं– नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ जेठसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको हो ।

कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड पुगेको छ । सुरुवाती महिनामा बाह्यको तुलनामा आन्तरिक ऋण हिस्सा धेरै भए पनि अहिले बाह्य ऋण उकालो लागेको छ । सार्वजनिक ऋणमा बाह्य ऋण हिस्सा ५० दशमलव ३२ प्रतिशत र आन्तरिक हिस्सा ४९ दशमलव ६८ प्रतिशत छ ।

यस वर्ष बैङ्किङ प्रणालीमा तरलता पर्याप्त रहेको र ब्याजदर समेत कम रहेका कारण सरकारले सुरुवाती महिनामा बढी आन्तरिक ऋण उठाएको थियो । तर, आर्थिक वर्षको अन्तिमतिर जाँदा आन्तरिक ऋणको बढी सावाँ भुक्तानी तथा बाह्य ऋण प्राप्तिसमेत बढ्दा समग्र सार्वजनिक ऋणमा बाह्य ऋण हिस्सा आन्तरिकको तुलनामा बढी भएको छ । नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन जिडिपीको ४२ प्रतिशत हाराहारी हो । सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३ खर्ब ७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो आन्तरिक तथा बाह्य दुवै हो । यस अवधिमा १ खर्ब ९७ अर्ब भुक्तानी भएको छ ।