images

ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव, सत्तारुढ दलभित्र हलचल पैदा 

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ । शनिवार कांग्रेस सभापति शेर बहादुर देउवा ओली निवास बालकोट पुगेर प्रधानमन्त्री बन्नका लागि प्रस्ताव गरेको स्रोतको दाबी छ ।

 सदनको बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो । आधा कार्यकाल ओली र त्यसपछिको आधा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको छ । नेपाली कांग्रेसका एक नेताले नाम नबताउने सर्तमा दुबै नेताबीचकाे छलफल सकारात्मक रहेकाे र मिलेर जाने सहमति भएकाे स्पेस समाचारलाई जानकारी दिए । लामो समयपछिको छलफलले दुबै पार्टीमा नयाँ समीकरणको आसा जगाएको उनले बताए।

हाल संसदमा कांग्रेस पहिलो र एमाले दोस्रो ठुलो दल हो । यी दुवै दल मिल्दा १६६ सांसदको समर्थनसहित बलियो सरकार गठन हुन्छ । यो भनेको दुई तिहाइ बहुमतका लागि आवश्यक सङ्ख्या (१७४) भन्दा थोरै कम हुन्छ । कांग्रेस-एमाले सरकारमा अन्य साना दलहरूलाई पनि मिसिएमा सहजै दुई तिहाइ पुग्न सक्छ । दुई तिहाइको सरकार बनेमा आवश्यक पर्दा संविधान संशोधन गर्न सक्नेसम्मको शक्तिशाली हुनेछ ।

 देउवाको उक्त प्रस्तावपछि सत्तारुढ दलहरू भित्र निकै हलचल पैदा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सूचना पाएसँगै सोमबार बिहानैदेखि एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा गोप्य भेटवार्ता भइरहेको छ ।