images

सिंहदरबारमा कृषि प्राविधिकहरूको धर्ना

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरूले मन्त्रालयमा धर्ना दिएका छन् ।

बुधवार पनि अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि सङ्घमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले साङ्केतिक विरोध स्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताए । उनले आन्दोलन असार १४ गतेदेखि सुरु गरेको भए पनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए । उनले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए ।

उनले भने, ‘हामीले यो आन्दोलन १४ गतेदेखि सुरु गरेका हौँ । धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गर्दै आइरहेका छौँ । यो हामीलाई २०७५ मा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरेको थियो । समायोजन गर्दा दरबन्दी भन्दा बढी समायोजन ग¥यो । त्यो बेला हामीलाई अवसर के दिइएको थियो भन्दा सङ्घमा समायोजन हुने की प्रदेशमा, स्थानीयमा समायोजन हुने भन्ने अवसर दिइएको थियो । त्यो अवसर अनुसार हामीले सङ्घ रोज्यौँ । सङ्घमा सङ्ख्या १० र समायोजन २० गरे जसरी बढी सङ्ख्यामा समायोजन गरेको थियो । त्यो समायोजन मिलाउनुको सट्टा अहिले ६ वर्ष भइसक्यो । हाम्रो वृद्धि विकास पूरै ठप्प भयो । दरबन्दी मिलाउनका लागि हामीले यो धर्ना कार्यक्रम गरेका हौं। हामी सबै अधिकृतहरूले हाजिरी गरेका छैनौँ, सबै बिदामा बसेका छौँ ।’

उनले सबै अधिकृतहरूले हाजिरी नगरेको र सबै अधिकृतहरू बिदामा बसेको पनि बताए ।