काठमाडौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।
शुक्रवार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त बताएका हुन् । उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने बताए । उनले पार्टीहरू बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलहरूले सांसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने बताए । उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।
उनले भने ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ । यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरूले सांसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ । हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्छौँ ।’
अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको बताए ।