images
images

सेवाग्राहीको चाप बढेसँगै सर्लाहीमा पालिकाको पालो अनुसार मात्रै नागरिकता प्रदान गरिने

सर्लाही–अबदेखि सर्लाहीमा नागरिकता सम्बन्धी सम्पूर्ण काम आफ्नो पालिकाको पालो अनुसार मात्र गराउन पाउने भएको छ। नागरिकता लिने सेवाग्राहीको अत्यधिक चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक सूचना जारी गर्दै पालिका अनुसार बार तोकेर सेवा दिने गरी नियम लगाएको छ।

एउटा पालिकाका बासिन्दाले तत्कालका लागि हप्तामा दुई दिन मात्रै सेवा लिन पाउने गरी पालो मिलाएको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार बलरा, हरिपुर, गोडैता, धनकौल र हरि पूर्वाका बासिन्दाले आइतबार र बुधवार,ईश्वरपुर, बसबरिया, रामनगर, कविलासी, चक्रघट्टा र पर्साका बासिन्दाका लागि सोमबार र बिहीबारको लागि छुट्टाइएको छ। त्यसै गरी कौडेना, मलंगवा, विष्णु, चन्द्रनगर र ब्रम्हपुरीका बासिन्दाका लागि मङ्गलवार र शुक्रवारको लागि दिन छुट्टाइएको छ।

आफ्नो पालिकाको पालो भएको दिन मात्रै सेवा लिन आउन सोही सूचना मार्फत प्रजिअ अधिकारीले सेवाग्राहीहरूसँग आग्रह गरेका छन् । आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय मलंगवामा नयाँ नागरिकता र प्रतिलिपि नागरिकता लिने सेवाग्राहीको अत्यधिक चाप बढेकाले त्यसको व्यवस्थापन एवं सरल, सहज रूपमा नागरिकलाई सेवा प्रवाहको प्रबन्ध मिलाउन बिहान, बेलुका र बिदाको दिन समेत कार्यालय खोलेर सेवा प्रवाह गरिरहेको प्रजिअ अधिकारीले बताए ।

उनले असार २८ गतेसम्मको लागि टोकन वितरण भइसकेको अवस्थामा पनि सेवा लिन सबै सेवाग्राहीहरू एकै दिन प्रशासन कार्यालयमा आउँदा सेवाग्राहीहरू सेवा नपाई फर्कनु परिरहेकोले असार २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पालिका अनुसार पालो लगाइएको बताए ।

नागरिकताका लागि मात्रै स्थानीय तह अनुसार पालो लगाइए पनि राष्ट्रिय परिचयपत्र लगायत अन्य सेवा भने यथावत् प्रवाह हुने उनले जानकारी दिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS