images

विद्युत् प्राधिकरणको लापरबाही: आठ सय महसुल हुनुपर्नेमा उपभोक्तालाई ८ लाखको बिल !

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा विद्युत् प्राधिकरणले चरम लापरबाही गरेको भेटिएको छ । बागमती गाउँपालिका–२ राई गाउँ निवासी गणेश बहादुर राईलाई प्राधिकरणले ३ महिनाको महसुल भनेर ८ लाखभन्दा बढी बिल पठायो । अस्वाभाविक बिल आएपछि झस्किएका राई प्राधिकरण पुगेपछि भने प्राधिकरणको लापरबाहीबारे प्रस्ट भए । घरमा ३ वटा मात्रै बत्ती बाल्दै आएका राईको तीन महिनाको बत्तीको महसुल आठ सय मात्रै हुनुपर्नेमा प्राधिकरणले ८ लाखको बिल पठाएको थियो ।

नेपाल विद्युत् प्राधिकरण हेटौँडाले बागमती गाउँपालिका–२ राई गाउँ निवासी गणेश बहादुर राईले घरमा तीन वटा बत्ती बालेको तीन महिनाको विद्युत् महसुल बापत ८ लाख ४४ हजार ७ सय ३१ रुपैयाँ भुक्तानी गर्न बिल दियो । न्यून आर्थिक अवस्थाका उनी अस्वाभाविक बिल आएपछि तनावमा परे ।

गणेश मात्रै होइनन्, सोही वडाको टाँडी गाउँ निवासी कोमल जङ्ग रानाको समस्या पनि उस्तै छ । पाँच वटा बत्ती, टिभी, पङ्खा लगायतका सामान्य विद्युतीय सामग्री प्रयोग गरेका रानाले ३ महिनाको विद्युत् महसुल ४१ हजार ९७ रुपैयाँ तिर्नुपर्ने गरी बिल आयो । अस्वाभाविक बिल आएपछि बुझ्नका लागि प्राधिकरण लगायतका निकाय धाएका उनले उल्टो जरिवानासमेत तिर्नुपर्यो  ।
तर, अस्वाभाविक बिल पठाएको विषयलाई प्राधिकरणले भने सामान्य मानवीय त्रुटि भनेको छ ।

केन्द्रमा डेडिकेटेड र ट्रङ्क लाइन सम्बन्धी विवाद चर्किरहेको बेला स्थानीय स्तरमा पनि देखिएको यो हदसम्मको लापरबाहीले प्राधिकरण कतै ठगी धन्दा त चलाइरहेको छैन भन्ने आशङ्का पैदा गरेको छ । सोझा सिधा उपभोक्तालाई अस्वाभाविक बिल पठाएर जबरजस्ती मनोमानी रकम असुल्नुले प्राधिकरणको लापरबाहीलाई पनि छरपस्ट पारेको छ ।