images

नाडा अटो शो भदौ ११ गतेदेखि, अटो मोबाइल क्षेत्रका नवीनतम प्रवृत्ति र प्रविधिहरूको प्रदर्शन गरिने

काठमाडौं । ‘नाडा अटो शो २०२४’ आगामी भदौ ११ गतेदेखि काठमाडौंमा हुने भएको छ।

बुधवार काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले यस वर्षको प्रमुख अटो मोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत ‘नाडा अटो शो २०२४’ हुने जानकारी दिएको हो।

५ दिनसम्म सञ्चालन हुने शो काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भदौ ११ गतेदेखि १६ सम्म हुनेछ। ‘शो’ को मुख्य प्रायोजक रूपमा टाटा ईभी र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह-प्रायोजकको रूपमा छन्।

यो कार्यक्रमले अटो मोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने नाडाले जनाएको छ। आयोजकका अनुसार यस वर्षको प्रदर्शनीमा २४ चार-पाङ्गे ब्रान्डहरू, १९ दुई पाङ्गे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन्, र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन्।

सबै गरी शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्।जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्। कार्यक्रममा हिरो जुम स्कुटरले बहु प्रतीक्षित डोर प्राइस प्रदान गर्नेछ। यस्तै टिकट खरिद गर्न खल्तीले सहयोग गर्ने छ। कार्यक्रमको आधिकारिक इन्टरनेट पार्टनरमा वर्ल्डलिंक रहेको छ।

नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

चाडपर्वको मौसम नजिकिँदै गर्दा, नाडा अटो शो २०२४ले अटो मोबाइल प्रेमीहरूका लागि नयाँ मोडेलहरू, प्रविधिहरू र प्रवृत्तिहरू अन्वेषण गर्ने अवसर प्रदान गर्ने छ।

प्रदर्शनीलाई चार पाङ्गे, दुई पाङ्गे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ।

अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २०५ क्यासब्याक लाभ पाउन सक्ने आयोजकले जनाएको छ। समाचार कवरेज गर्नका लागि प्रदर्शनी स्थलमा समर्पित मिडिया डेस्क उपलब्ध हुनेछ। प्रदर्शनीमा मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा ट्राफिक सूचना डेस्क पनि हुनेछ। ६ दिनसम्म चल्ने कार्यक्रममा करिब ७५ हजार नागरिकले सहभागी जनाउन सक्ने आयोजकले विश्वास लिएको छ।

अतिरिक्त आकर्षणको रूपमा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कुटर जित्ने अवसर पाउनेछन्। जसलाई सिजी मोटर्स प्रा.ली द्वारा प्रायोजित गरिएको हो।