काठमाडौं । नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठुलो हतियार रहेको बताएकी छन् । यो आफ्नो मात्र नभई देशकै पदक रहेको प्रतिक्रिया पलेशाको छ ।
अब गर्व पूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन् । पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्थामा अब नरहने उनको भनाइ छ । पलेशाले यो पदक आफ्नो मात्र नभइ देशकै पदक रहेको प्रतिक्रिया दिँदै गर्न अभैm धेरै बाँकी रहेको बताएकी छिन् ।
प्रशिक्षक कविराज नेगी लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएको भन्दै खुसी व्यक्त गरे । पलेशाको अथक मिहिनेत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको उनको भनाइ छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदको एउटा सपना बिपनामा परिवर्तन भएको बताए । उनले पलेशालाई देशको रियल हिरोको रूपमा चर्चा गरे ।
यता, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शिर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई बुधवार नगर परिक्रमासहित भव्य स्वागत गरेको छ । पेरिस पारा ओलम्पिकमा तेक्वान्दोअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजी तौल समूहमा कांस्य जितेकी पलेसा बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन् । काठमाडौं आएसँगै कीर्तिमानी खेलाडी पलेशा र प्रशिक्षक कविराज नेगी लामालाई नगर परिक्रमा गराएर स्वागत गरिएको छ ।