images
images
images

हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना हुने पर्यटनमन्त्रीको घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन्।

नेपालमा हवाई दुर्घटनापछि गठित छानबिन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भइरहेका वेला मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। उनले त्यसका लागि आवश्यक ऐन बनाउन सरकारले गृहकार्य गरिरहेको पनि बताए।

आइतवार भक्तपुरमा आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धी अन्तरसंवादमा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटना छानबिनका लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरूमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गरेको स्पष्ट पारे। उनले हवाई सुरक्षालाई ध्यानमा राखेर सरकारले गैरसैनिक हवाई ऐन परिमार्जन गर्न थालेको बताएका छन्।​

मन्त्री पाण्डेले भने, ‘गैरसैनिक हवाई ऐन त्यो पनि निकै पुरानो रहेको छ। समसामयिक परिमार्जन गर्ने गरी मन्त्रालयले काम गरिरहेको छ। दुर्घटनापछि जाँचबुझका लागि समिति बन्छन्। जाँचबुझका लागि एउटा स्थायी प्रकृतिको संस्था र संरचना चाहिन्छ भनेर त्यसका निम्ति पनि अलग ऐनको ड्राफ्ट बनाउने क्रममा छौँ।’

मन्त्री पाण्डेले सरकारले हवाई दुर्घटनामा परेकाहरूलाई बिमाको दायरामा ल्याउने नीतिगत व्यवस्था पनि गर्ने बताएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS