काठमाडौं । सभापति पक्राउविरुद्ध आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पत्रकार सम्मेलन गर्दै छ । काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजेपछि हुने पत्रकार सम्मेलनमा रास्वपाले आफ्नो आगामी कार्यक्रम र योजनाबारे जानकारी गराउने बताएको छ । यसअघि गत बुधबार दोस्रो चरणको आन्दोलन घोषणा गर्न भन्दै रास्वपाले पत्रकार सम्मेलन डाके पनि अन्तिम समयमा स्थगित गरेको थियो । मंगलबार कोपमा सहभागी हुन अजरबैजान पुगेका उपसभापति डास्वर्णिम वाग्ले फर्केलगत्तै रास्वपाले पत्रकार सम्मेलन आयोजना गरेको हो ।
तर, यसपल्ट दोस्रो चरणको आन्दोलन घोषणा गर्ने विषय रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पत्रकारहरूलाई पठाएको सूचनामा उल्लेख छैन । सहकारी ठगी प्रकरण अनुसन्धानका क्रममा पक्राउ परेका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । एक सातासम्म पोखरा पुगेर आन्दोलन गरेको रास्वपाले पछि आफ्नो आन्दोलनलाई काठमाडौं सारेको थियो । तर, अब आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा पार्टी नेतृत्व प्रस्ट देखिएको छैन ।
यसैबीच, काठमाडौंको कीर्तिपुरमा नगर प्रमुखको उम्मेदवारबारे निर्णय लिन पनि रास्वपालाई सकस परेको छ । कीर्तिपुर नगर सभापति जयराम कार्कीको मात्र दाबी परे पनि रास्वपाले निर्णय लिन ढिला गरेको छ । सरसफाइ अभियन्ता राजमान मानवले उम्मेदवारी घोषणा गर्नु र पार्टीका तर्फबाट दाबी गरेका जयरामप्रति पूर्ण भरोसा नहुनुले निर्णयमा ढिला भएको स्रोतको दाबी छ । राजमानले आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको समर्थन रहेको दाबी गर्दै आएका छन् ।