काठमाडौं । अस्ट्रेलियाको तल्लो सदनमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पेस गरिएको छ । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार उक्त विधेयक आज पेस भएको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजका अनुसार प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ । सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि यस्तो गरिएको बुझिएको छ । अस्ट्रेलियाको नयाँ कानुनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ। १७ पृष्ठको यो विधेयक अर्को हप्ता अस्ट्रेलियाको सिनेटमा पेस हुने सम्भावना छ। अस्ट्रेलियामा धेरै अभिभावकले यो पहललाई स्वागत गरेका छन् । सँगसँगै धेरै विज्ञले भने यस विषयमा प्रश्न पनि उठाइरहेका छन्। केटाकेटीलाई सामाजिक सञ्जालबाट रोक्न सम्भव छ कि छैन भन्ने प्रश्न उनीहरूको छ ।