काठमाडौं । सभामुख देवराज घिमिरे भोलि कम्बोडिया जाने भएका छन्। सहिष्णुता र शान्तिका लागि राष्ट्रिय संसद्को ११औँ महासभामा सहभागी हुन सभामुख घिमिरे भोलि राति सवा १० बजे कम्बोडिया प्रस्थान गर्न लागेका हुन्।
पर्सि शनिबारदेखि सोमबारसम्म महासभाका विभिन्न बैठक र कार्यक्रममा सहभागी भएर मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । अर्को कार्यक्रमका लागि विभिन्न ८ राजनीतिक दलका १३ जना नेता पनि कम्बोडिया गएका छन्। कम्बोडियामा आज सुरु हुने आइसीएपीपी इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीजको १२ औं अधिवेशनमा भाग लिन सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका विदेश विभाग प्रमुख रघुविर महासेठ र पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई लगायतका नेताहरू कम्मोडिया गएका हुन्। एमालेले भोलि काठमाडौँमा आयोजना गर्ने जागरण सभाको संयोजक भट्टराईलाई बनाएको थियो। भट्टराईले आफू विदेश उडेपछि सो जिम्मेवारी कैलाश ढुंगेललाई दिइएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।