काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् शक्ति प्रदर्शन गर्दैछ। देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ। एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी १ लाख उतार्ने लक्ष्य लिएको छ। उपत्यकाको तीन जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्याउने दाबी गरिएको छ। भद्रकालीबाट सुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने बताइएको छ।
जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्व निर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या र सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडक मात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ। जुलुस साढे ११ बजेबाट सुरू भई १२ बजे सभामा परिणत हुने छ। सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ।