images

अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । सत्तारूढ दल नेकपा एमालेले आज काठमाण्डौको दरबारमार्गमा जागरण सभा गरेको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार र ठगी सैह्य नहुने बताउनुभएको छ । उहाँले अपराध गर्नेलाई सरकारले अनुहार नहेर्ने बताउनुभयो । तथ्य र प्रमाणको आधारमा मात्रै बहस गर्नुपर्नेमा उहाँको जोड छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ लागिपरेको बताउनुभएको छ । उहाँले वर्तमान गठबन्धन आउँदो चुनावसम्म रहने दोहोर्‍याउनुभयो । अब २०८३ साल असारसम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँको भनाइ छ । ओलीले दुई दल कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुँदाहुँदै पनि देशको अवस्था हेरेर सहकार्य भएको दाबी गर्नुभयो । आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले यो भ्रमण सफल हुने बताउनुभयो । उहाँले आफू चीन घुम्न जान नलागेकोसमेत बताउनुभएको छ । चिनियाँ परियोजना बीआरआईलाई सङ्केत गर्दै उहाँले अहिले देशको अवस्था कसैसँग ऋण लिने नरहेको पनि बताउनुभयो ।