काठमाडौं । सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा लिएका छन् । बेलायतमा आधारित निगरानी समूह सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स एसओएचआरका अनुसार हिजो बेलुकासम्म विद्रोहीहरूले शहरको आधाभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन् ।
सिरियाली सरकारविरुद्ध वर्षौंदेखि भइरहेको आक्रमणमध्ये हिजोको आक्रमण सबैभन्दा ठूलो हो । सन् २०१६ मा सरकारी सेनाले जबरजस्ती हटाएपछि विद्रोहीहरू पहिलो पटक अलेप्पो पुगेका छन् । इस्लामिक लडाकु समूह हयात तहरीर अल–शाम ९एचटीएस सँगसम्बद्ध एक च्यानलमा पोस्ट भएको भिडियोमा विद्रोही लडाकुहरू शहर भित्र गाडीमा घुमिरहेको देखिएको छ । सयौँ मानिसहरु शहर छाडेर भागेका छन् ।
सरकारले भने अलेप्पोलाई पुन नियन्त्रणमा लिन कारबाही शुरू भइसकेको जनाएको छ । सिरियामा राष्ट्रपति बसर अल अशदविरुद्ध सन् २०११ मा शुरू भएको आन्दोलन अहिले विभिन्न समूहको सशस्त्र विद्रोहसम्म पुगेको छ । गृहयुद्धमा ५० हजार जना भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सिरियाको सरकारी सेनालाई रुसको साथ छ । फ्रि सिरियन आर्मी नामक अर्को विद्रोहीलाई अमेरिका र बेलायत लगायतको साथ रहेको छ ।टर्की टुक्राउने मागसहित विद्रोह गरिरहेको कुर्दिस लडाकु फोर्स पनि सिरियामा सक्रिय रहेका कारण टर्कीले पनि आक्रमण गरिरहन्छ ।