images

कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा पञ्चवर्षीय गढीमाइ मेलाको उद्घाटन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रौतहटको पूर्वुभेग गढीमाई नगरपालिका ४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन । मंगलवार एक समारोहका बिच प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री सिंहले सुन्दरपुर गढीमाई मेलाको विधिवत रूपमा उद्घाटन गरेका हुन । उदघाटन समारोहमा कावा प्रधानमन्त्री सिंहका साथै नेपाली कांग्रेसका संघीय सांसद देवप्रसाद तिमल्सिना, मधेश प्रदेशका सभापति पुर्व मन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, प्रदेश सांसद अब्दुल कलाम आजाद, गढिमाई नगर पालिकाका मेयर श्यामप्रसाद यादव, माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगर पालिकाका मेयर कन्थमणि प्रसाद जयसवाल लगाएतको सहभागिता रहेको थियो । बिश्व प्रसिद्ध बारा स्थित गढीमाई मेलाकै तिथि मितिमा बृहत रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना गरिएको छ ।

सुन्दरपुर स्थित गढीमाई मन्दिरमा विगत झै यसपटक पञ्चवर्षीय मेलाको आयोजना गरिएको हो । मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले सुन्दरपुर गढीमाई मन्दिरमा सोमवार देखि मङसिर २६ गतेसम्म मेला लाग्ने बताएका छन । स्थानियहरुको अनुरोधमा मेलालाई बृहत तथा सभ्य र भव्य बनाउन मङसिर २० गते बिहिबार भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको मेयर यादवले बताएका छन् । रौतहटको सुन्दरपुर गढीमाई मेलामा अघिल्लो पटक साढे ७ सय राँगाको बली चढेको प्रवक्ता दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । मेलामा छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, बारा लगायत सीमावर्ती भारतबाट लाखौँ मानिस आउने गरेको आयोजकले जनाएको छ । दर्शन गर्न आउने बाहिरका भक्तजन तथा आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको सुन्दरपुर गढीमाई मेला समिति रौतहटले जनाएको छ ।