images

संसद्को हिउँदे अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं  । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरू हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।

दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छ । प्रतिनिधिसभाको आजको बैठकका लागि प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिले कार्यसूची निर्धारण गरिसकेको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको थियो । जसअनुसार पहिलो दिन नै सरकारले हालै ल्याएका अध्यादेशहरू पेश हुनेछन् ।

बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश हुनेछन् ।

यसैगरी, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पनि प्रतिनिधिसभामा पेश हुनेछन् ।

बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । बैठकमा अन्य राजनीतिक दलका नेताहरूले पनि बोल्ने कार्यसूची छ ।

नेकपा माओवादीलगायत विपक्षी दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको चर्को विरोध गर्ने तयारी गरेका छन् । विपक्षी दलको साझा धारणा बनाएर जाने उनीहरूको तयारी  छ । माओवादी र रास्वपाले अध्यादेश अस्वीकार प्रस्ताव समेत दर्ता गर्ने बताएका  छन् ।

यता, सरकारमा रहेका दल नेपाली कांग्रेस र नेकपा एमालेले भने आफ्ना सांसदहरूलाई अध्यादेशका पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिइसकेका छन् । साथै, विधेयक अधिवेशनका रूपमा रहेको हिउँदे अधिवेशनमा प्रभावकारी भूमिका खेल्न पनि दुवै दलले सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाले माघ महिनाको क्यालेन्डर तयार गरेको छ । माघमा प्रतिनिधिसभाका ७ वटा बैठक बस्ने छन् ।