
काठमाडौं । साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । मंगलबार वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ । यो वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ ।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र आशा गरिएको छ कि रुसले पनि समर्थन गर्ने बताए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने बताए । वार्तामा अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै अब रुसले युद्धविराम सर्त स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताए । उनले वार्ताको सफलताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको पहललाई श्रेय दिँदै युद्ध अन्त्य गर्नु नै प्रमुख उद्देश्य रहेको स्पष्ट पारे ।
वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव मार्को रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्व राजदूत स्टीभ विटकफ सहभागी थिए भने युक्रेनको तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एण्ड्री येर्माक, विदेशमन्त्री एण्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ उपस्थित थिए ।