
काठमाडौं । समाजवादी मोर्चा, नेपालले सरकारको गतिहीनताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा चुनौती देखा परेको बताएको छ।
शनिबार आयोजना गरेको एक कार्यक्रममा मोर्चाले सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको र यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको बताएको छ।
साथै, मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि यही चैत १५ गते (शुक्रवार) काठमाडौंमा विशाल विरोध प्रदर्शनसहितको जनसभा आयोजना गरिएको जनाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवद्वारा जारी संयुक्त वक्तव्यमा सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित रहेको आरोप लगाइएको छ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवम् जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्वहरू लागिपरेका छन्’ वक्तव्यमा भनिएको छ, ‘यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ।’