
काठमाडौं । आज संघीय संसद्का तीन समितिको बैठक बस्दै छ । तीन वटै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने तीनवटा एजेन्डामा छलफल हुनेछन् । समिति अन्तर्गतका उपसमितिहरूमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक ११ बजेबाट सुरु हुनेछ ।
साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने समितिमा प्राप्त उजुरी उपर छलफल सम्बन्धमा हुनेछ । लेखा समितिले यसअघि नै १०० वटा उजुरी सार्वजनिक गरिसकेको छ ।