images

आईपीएलको १८औँ संस्करण आजदेखि, उद्‌घाटन खेलमा कोलकाता र आरसीबी भिड्दै

काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण आजदेखि सुरु हुँदै छ ।

उद्घाटन खेलमा साबिक विजेता कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजे कोलकातास्थित इडेन गार्डेनमा हुनेछ ।

साबिक विजेता कोलकाता प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ  । रोयल च्यालेन्जर्स बैंगलुरु भने साबिक विजेता कोलकातालाई हराउँदै आईपीएलमा सुखद सुरुवात गर्न चाहन्छ । रोयल च्यालेन्जर्सले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । त्यसैले पनि उद्‌घाटन खेलमा साबिक विजेतालाई हराउँदै प्रतियोगितामा उपाधि दाबेदारी प्रस्तुत गर्ने रणनीतिमा रोयल च्यालेन्जर्स हुनेछ ।

रोयल च्यालेन्जर्स  नयाँ कप्तान रजत पाटीदारको कप्तानीमा मैदान उत्रिनेछ । दुई महिनासम्म चल्ने आईपीएलको फाइनल खेल मे २५ मा हुनेछ । आईपीएलका खेल सबै होम एण्ड अवेका आधारमा हुनेछ ।  आईपीएलमा सहभागी १० टिमले एक(अर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् । लिग चरणपछि शीर्ष दुई टिम पहिलो क्वालिफायरमा प्रवेश गर्नेछन् । यी दुई टिमबीचको विजेता फाइनल प्रवेश गर्नेछ ।

दोस्रो र चौथो स्थानमा रहने टीमबीच इलिमिनेटर खेल हुनेछ । इलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्नेछ । उक्त खेलमा विजयी हुने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।