
काठमाडौं । सोमबार विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंएको छ ।
क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले निकाल्नु भएको विज्ञप्तिमा क्षयरोग (टीबी) विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ ।
तीन हप्ता वा त्योभन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । नेपालमा क्षयरोगको निःशुल्क उपचारको व्यवस्था छ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागूऔषध प्रयोग गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा नखाएमा रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनुपर्ने छाती तथा फोक्सो रोगका वरिष्ठ विशेषज्ञ डा. अच्युतभक्त आचार्यको सुझाव छ ।
नियमित औषधी खाएमा क्षयरोग निको हुन्छ । उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ । ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । क्षयरोग निर्मूल गर्न पर्याप्त स्रोतको अभाव रहेको छ । रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ ।