
काठमाडौं । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने भएका छन् । बुधबार बिहान सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले कुलमान बर्खास्तीविरुद्ध सशक्त प्रतिरोध गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
सरकार नसच्चिएसम्म प्रतिरोध जारी राख्ने उनले बताए । ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले नगर्नुपर्ने काम गर्यो । सडकमा पनि यसको आवाज उठेको छ । यसबारे आज हामी सदनमा सशक्त आवाज उठाउने छौं, प्रतिरोध गर्छौं,’ उनले भने, ‘सरकारले शुरूआतदेखि विधिविधान बाहिर गएर गर्ने गरेको छ । सरकारलाई सच्चिन अनुरोध गर्छौं । नसच्चिएसम्म निरन्तर सशक्त प्रतिरोध गर्छौं ।’ बैठकमा अरू विविध विषयमा छलफल भएको उनले बताए ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालसहित उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार र नेपाल समाजवादी पार्टीका नेता महेन्द्र यादवलगायत उपस्थित छन् ।