images

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दैछन् ।  नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो। विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीमा राखिएको छ । अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार) पेस गर्ने कार्यसूची रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

विपक्षी दलहरूले कुलमान घिसिङको बर्खास्तबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने भन्दै सदन अवरुद्ध पार्ने तयारी गरेकोले आजको बैठक कार्यसूची अनुसार सञ्चालन हुनेमा आशङ्का कायमै छ ।