images

आस्थासँग जोडिएको दुर्लभ शिव लिङ्ग फूल

विराटनगर– धर्म अनुसार फरक–फरक वनस्पिती, जनावर लगायतलाई भगवानको प्रतिकका रूपमा श्रद्धा प्रकट गर्ने गरिन्छ । ती मध्ये केहीमा धार्मिक आस्थासँगै वैज्ञानिक तथ्य पनि भेटिन्छ भने केहीमा भगवानको आकृति देखिने हुँदा समेत पूजा आराधना गरिन्छ । हिन्दु धर्मावलम्वीहरुको आस्थासँग जोडिएको तीनै मध्येको एक वनस्पति हो, कैनन बल । नेपालमा निकै दुर्लभ रहेको यो वनस्पतिलाई हिन्दुहरूले भगवान् शिवका रूपमा पुज्ने गरेका छन् ।

हिन्दु धर्मावलम्वीहरुको आस्थासँग जोडिएको कैनन बल भनिने वनस्पतिलाई हिन्दु धर्मावलम्वीहरूले भगवान् शिवको प्रतिकका रूपमा श्रद्धा गर्छन् । कैनन बल ट्री भनिने यस रुखमा फुल्ने फुललाई शिव लिङ्ग र शेष नागको आकृतिसङ तुलना गरिन्छ । यस फुलको मध्य भागमा शिव लिङ्ग र शिव लिङ्गमाथि शेष नागले छत्रछाया दिई रहेको जस्तो आकृति देखिन्छ । देव वृक्षका रूपमा समेत पूजा आराधना गरिने यस वृक्षलाई हिन्दु धर्मावलम्वीहरुले विशेष गरी भगवान् शिवको मन्दिर परिसरमा लगाउने गर्दछन् । नेपालमा निकै दुर्लभ र जोकोहीलाई जानकारी नै नभएको यो वृक्ष विराटनगरको विराटेश्वर शिव मन्दिरमा देख्न सकिन्छ ।

नेपालमा यस फुललाई शिव लिङ्गको फुल भनिन्छ भने भारतमा शिवकमल, नागालिङम, नागलिङ पुष्प, नागमल्ली र मल्लिकार्जुन आदि विभिन्न नामले चिनिन्छ । विक्रम सम्वत २०५० सालमा तत्कालीन राजा वीरेन्द्र दक्षिण भारत भ्रमणमा गएका बेला त्यहाँका शङ्कराचार्यले राजा वीरेन्द्रलाई उक्त फुलको बिरुवा उपहार स्वरूप प्रदान गरेका थिए । उक्त बिरुवा राजा वीरेन्द्रले जनकपुरधामस्थित जानकी मन्दिरको शत वार्षिकी समारोहको अवसरमा विवाह मण्डप परिसरमा रोपेका थिए । उक्त बिरुवाले हाल विशाल वृक्षको स्वरूप ग्रहण गरेको छ । यस रुखबाट बिउ सङ्कलन गरी जनकपुरका बन प्राविधिकहरूले नयाँ बिरुवाहरू उत्पादन गरी विभिन्न मन्दिर तथा इच्छुकहरूलाई उपलब्ध गराई रहेका छन् ।

यस रुखको फल भने गोलाकार हुन्छ । जसमा औषधीय गुण पाइन्छ । लोक चिकित्सामा ज्वरोका बिरामीलाई यस फलको गुदीको जुस खुवाउने गरिन्छ । यसको गुदीमा यान्टिबायोटिक, एंटीफंगल, एंटिसेप्टिक र एनाल्जेसिक गुण हुन्छ । यस रुखको फुल पात, तथा फल चम्ररोग, पाचन तथा चिसोबाट लाग्ने रोग निवारणका निम्ति प्रयोग गरिन्छ । शिव लिङ्गी रुखबाट अक्सिजन उत्सर्जन अधिक हुने भएकाले मानवीय यस रुखको उत्पत्ति अमेरिकामा भएको बताइन्छ । दक्षिण पूर्व एसियामा पाइने यो वृक्ष अमेजनको जङ्गल हुँदै भारत र नेपाल आई पुगेको हो ।