काठमाण्डौ । आउने जनवरीमा मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली खेलाडीको टोली बन्द प्रशिक्षणका लागि चितवन गएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली चितवन गएको हो ।
चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाका अनुसार आजदेखि बन्द प्रशिक्षण शुरू हुँदैछ । बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने छन् । बन्द प्रशिक्षण यही पुस २२ गते सम्म चल्नेछ । बन्द प्रशिक्षण सकिएलगत्तै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन् ।