images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको चार्टर उडान

काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले चार्टर उडान गरेको छ । चीनको छेङ्दुबाट एक सय २६ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको जहाज बिहान पोखरा विमानस्थलमा अवतरण गरेको हो । पोखरामा भोलिदेखि शुरू हुने इन्टरनेशनल ड्रागनबोट फेष्टिभलमा सहभागी हुन खेलाडीहरुसहित चार्टर जहाज आएको हो । फेवा तालमा शुक्रवार र शनिवार दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस हुँदैछ ।

आउँदो १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ । दुई वर्षको अवधिमा अहिलेसम्म ७ वटा चार्टड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि चीन, भुटान र भारतबाट चार्टर उडान भएका थिए । विमानस्थल उद्घाटन हुँदा हिमालयन एयरलाइन्सको जहाजले काठमाण्डौबाट अन्तर्राष्ट्रिय मापदण्डमा पोखरा उडान भरेको थियो ।

सिचुवानको जहाज पोखरा विमानस्थलबाट काठमाण्डौ हुँदै फर्कने छ । जहाज काठमाण्डौ आउँदा त्यसमा पोखराबाट व्यवसायी, पत्रकारसहितको टोली काठमाण्डौ आएर पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिने कार्यक्रम छ ।