
काठमाडौं । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ ।
पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ । यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषण गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो ।
पाकिस्तानको यो घोषणा लगत्तै भारत प्रशासित कश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको बताइएको छ । त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ । यद्यपि भारतले पाकिस्तानको यो घोषणाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझ पनि गोलाबारी भएको थियो । कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा रातभर गोलाबारी भएको बताइएको छ ।