
काठमाडौं । कांग्रेस सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । सांसद राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको सहसचिव समेत थिइन् ।
उनको पालामा सहकारीको रकम अपचलन भएको थियो । यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजनमार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको छ ।
यो सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनीपछि धरौटीमा रिहा भएका थिए ।
यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।