images

वाटरल्याण्ड पार्कमा नुहाउन पुगेका विद्यार्थी तोडफोडमा उत्रिदा झडप, १० जना पक्राउ

काठमाडौं । धनुषाको छिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित वाटरल्याण्ड पार्कमा विशेष छुटमा नुहाउन पुगेका विद्यार्थीहरुले तोडफोडमा उत्रेपछि झडप भएको छ ।

वाटरल्याण्डमा विद्यार्थीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले रोकेको थियो । सो क्रममा विद्यार्थी र प्रहरीबिच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेका छन् । धनुषा प्रहरीका सूचना अधिकारी सञ्जीव यादवका अनुसार प्रहरीमाथि विद्यार्थीहरुले ढुंगामुढा गरेका छन् ।

चार जना प्रहरी पनि घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्याँस हानेको छ । वाटरल्याण्ड पार्कमा कक्षा १२ का विद्यार्थीलाई राखेर एउटा कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ नुहाउन ९ सय शुल्क लाग्ने गरेकोमा आजका लागि कार्यक्रम आयोजकले १ सय मात्र शुल्क लिने अफर दिएको थियो । एक हजार विद्यार्थीलाई बोलाइएकोमा ३/४ हजार विद्यार्थी पुगेका थिए ।

नुहाउन मारामार भएपछि विद्यार्थीहरु तोडफोडमा उत्रेको बताइएको छ । धनुषा प्रहरीका सूचना अधिकारी यादवले तोडफोडमा संलग्न १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

उनका अनुसार तोडफोडबाट पार्कमा भएको क्षतिको विवरण आउन सकेको छैन । अनुसन्धान भइरहेको भन्दै तोडफोडमा संलग्न सबैलाई नियन्त्रणमा लिएर कारबाही गर्ने धनुषा प्रहरीका सूचना अधिकारी यादवको भनाइ छ ।