images

शान्ति वार्ता सकिएको केही घण्टामै युक्रेनमाथि रुसको हमला, बसमा सवार नौ जनाको मृत्यु

काठमाडौं । उत्तरपूर्वी युक्रेनको सुमी क्षेत्रको बिलोपिलिया शहरमा रुसी ड्रोन आक्रमणमा एक मिनीबसका यात्रुमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान मिनीबस रुसी ड्रोनको निशानामा परेको थियो । सैन्य प्रशासनले दिएको जानकारी अनुसार यो हमला रुसको सिमानासँग नजिकैको क्षेत्रमा भएको हो । युक्रेनको राष्ट्रिय प्रहरीले यस आक्रमणलाई ’युद्ध अपराध’ भनेको छ । रुसले यस आक्रमणबारे प्रत्यक्ष टिप्पणी नगरे पनि रुसका स्थानीय मिडियाहरूले सुमीमा रहेको ’सैनिकस्थल’मा हमला गरिएको दाबी गरेका छन् । यो घटना युक्रेन र रुसबीच सन् २०२२ यता पहिलो पटक भएको प्रत्यक्ष वार्तालगत्तै भएको हो ।

वार्ता इस्तानबुलमा शुक्रबार सम्पन्न भए पनि युद्ध अन्त्य गर्ने विषयमा कुनै ठोस सहमति भने हुन सकेन । यद्यपि, दुवै पक्षले एक–एक हजार युद्धबन्दीहरू आपसमा फिर्ता गर्ने सहमति गरेका छन् । यसैबीच, शनिबार युक्रेनी ड्रोनहरूले रुसद्वारा २०१४ मा अवैध रूपमा कब्जा गरिएको क्रिमियामा रहेको एक सैन्य भण्डारण केन्द्रमा हमला गरेका थिए ।

रोयटर्सका अनुसार उक्त हमलामा हातहतियार, इन्धन र अन्य सैन्य सामग्री राखिएको गोदाम विस्फोट भएको छ । युक्रेनले युद्ध अन्त्यको लागि पूर्ण र सर्तविहीन युद्धविरामको माग दोहो¥याउँदै राष्ट्रपतिस्तरीय वार्ता आवश्यक रहेको बताएको छ । राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र भ्लादिमिर पुटिनबीच प्रत्यक्ष वार्ता हुनुपर्ने माग युक्रेनको छ ।