
काठमाडौं । साफ महिला अन्डर ट्वेन्टी च्याम्पियनसिप आगामी जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदैछ । यसका लागि टोली अहिले अन्तिम तयारीमा छ ।
साबिक उपविजेतासमेत रहेको नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विगत एक महिनादेखि तयारी गरिरहेको छ । जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र मात्र सहभागी छन् । त्यसमा साविक विजेता बंगलादेशसहित नेपाल, भुटान र श्रीलंका छन् ।
पछिल्लो पटक सन् २०२३ मा साफ यु–२० महिला च्याम्पियनसिप आयोजना भएको थियो । उक्त च्याम्पियनसिपमा नेपाली टोलीले सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो । तर फाइनलमा भने नेपाली टोली ३–० को फराकिलो हार सामना गर्न बाध्य भयो । फेरि दुई वर्षपछि नेपाली टोली बंगलादेशमा नै दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दै छ ।
नेपाली टोलीले यस पटक उमेर समूहमा देखिएको उपाधि खडेरी तोड्दै च्याम्पियन बन्ने लक्ष्य राखेको छ । नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अहिले बलियो टोली बनेको र साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन् । नेपाली टोलीका प्रशिक्षक गुरुङले यसपल्ट डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई राम्रो चुनौति दिनसक्ने टोली बनेको उल्लेख गरेका छन् । साथै उनले यही टोलीले उपाधि पनि जित्ने आशा व्यक्त गरे ।
टोलीमा केही नयाँ अनुहार र उमेर समूहका उत्कृष्ट खेलाडी समावेश रहेको प्रशिक्षक गुरुङ बताउँछन् । तीन स्थानमा सम्पन्न खुला छनोटबाट ६० जनाको प्रारम्भिक टोली बनाइएकोमा त्यहाँबाट अन्तिम २३ सदस्यीय नेपाली युवा टोली घोषणा भइसकेको छ । यस पटक चार टोली मात्र सहभागी भएकोले डबल राउण्ड रोविनका आधारमा च्याम्पियनसिपका खेलहरू खेलाइनेछ । डबल राउण्ड रोविनमा हुने च्याम्पियनसिपमा हरेक टोलीले अर्को टोलीसँग दुई–दुई खेल खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम नै च्याम्पियन हुनेछ ।
लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्ने छ । नेपालका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भुटान पनि कठिन प्रतिद्वन्द्वी बन्न सक्नेछ । किनकी भूटानले पछिल्लो समय विभिन्न उमेरसमूहमा राम्रो प्रदर्शन गरेको छ । यस प्रतियोगितालाई अगष्ट २ देखि १० सम्म भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोटको तयारीको रुपमा समेत हेरिएको छ ।
देशका लागि उपाधि दिलाउने लक्ष्य लिएको नेपाली टोलीकी सदस्य मिना देउवा बताउँछिन् । लक्ष्यअनुरूप मैदानमा पनि खेल्ने उनको विश्वास छ । टोलीमा टिम कम्बिनेसनमा धेरै सुधार आएको र बलियो टोली बनेको उनी बताउँछन् । तयारीका लागि अझै एक हप्ता बाँकी रहेकाले थप सुधार आउने मीनाले अपेक्षा लिएकी छन् ।
टोलीको तीन गोलकिपरमा लिला जोशी, करुण बुढाथोकी र सुजता तामाङ छन् । अन्य सदस्यमा सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिषा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिसा सेन, वर्षा ओली, पूर्णीमा राई, मिना देउवा र समीक्षा मगर छन् ।