images
images

धान रोप्ने सिजनमै डिजेल र मट्टीतेलको भाउ बढ्यो, किसान थप मारमा

काठमाडौं । धान रोपाइँको चटारो चलेको बेला नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ मूल्य बढाएको हो ।

मूल्य समायोजन मंगलबार बिहानदेखि लागू गरिएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १४९ रुपैयाँ निर्धारण गरिएको छ । सुर्खेत र दाङमा पेट्रोल १६४ रुपैयाँ तथा डिजेल र मट्टीतेल १४८ रुपैयाँमा विक्री हुनेछ ।

चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जलगायत स्थानहरूमा पेट्रोलको भाउ १६२ रुपैयाँ ५० पैसा र डिजेल÷मट्टीतेलको भाउ १४६ रुपैयाँ ५० पैसा तोकिएको छ । यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर सात रुपैयाँले तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५१ अमेरिकी डलरले बढाइएको छ ।

कृषि क्षेत्रमा प्रयोग हुने डिजेलको मूल्यवृद्धि धान रोप्ने किसानका लागि थप बोझ साबित भएको छ । वर्षाको भर नपरेको बेला सिँचाइका लागि डिजेल पम्प अनिवार्य भइरहँदा मूल्यवृद्धिले उत्पादन लागत झन् बढाउने निश्चित छ । अर्कोतर्फ, असारको रोपाइँ सिजनमै मलखादको अभाव देखिएको बेला इन्धनको मूल्यसमेत बढ्नुले किसानको मनोबल घटाउने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।

कृषकहरू र कृषि विशेषज्ञहरू सरकारले खेतीपातीका दृष्टिले संवेदनशील समयको महत्व नबुझी मूल्य निर्धारण गर्ने नीतिप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । सरकार र आयल निगमले मूल्य समायोजन गर्दा कृषकको अवस्था, खेतीको सिजन, र उत्पादन लागत जस्ता पक्षहरूलाई बेवास्ता गरेको उनीहरूको आरोप छ । सरकारी तथ्यांक अनुसार मलको मौजाद पर्याप्त देखिएपनि किसानहरुले भने न्यूनतम मतसमेत नपाएको गुनासो गरेका छन् ।

सरकारी तथ्यांकको आधारमा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीको गोदाममा रासायनिक मल टनाटन देखिन्छ । ६० हजार टन मल मौज्दात रहेको सरकारको दाबी छ । तर, कसानहरुको पीडा भने उस्तै । धान रोपाइँ गर्न किसानले मल पाएका छैनन् । देशैभर मलको हाहाकार हुँदा पनि सरकार भने तथ्यांक देखाएर मात्रै बसेको छ । यसै बेला पेट्रोलियम पदार्थको भाउ बढेपछि डिजेल पम्प प्रयोग गर्नुपर्ने किसानहरु थप संकटमा परेका छन् ।

किसानहरुले मानु रोपेर मुरी फलाउने समयमै सरकारले अमनाएको नीति अन्यायपूर्ण मात्रै छैन । यसले समग्र कृषि क्षेत्रलाई उपेक्षामा राखेको देखिन्छ । धान रोपाइको सिजनमै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य वृद्धि हुनु के संयोग मात्रै हो ? यसको जवाफ सरकराले दिनुपर्छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS