
काठमाडौं । जेन–जी आन्दोलनको घाइते परिवार सरस्वती रावलले जेन-जी आन्दोलनको बलिदानीलाई सरकारले सम्बोधन गनुपर्ने बताएकी छन् ।
शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जेन-जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए आफू गोली खान तयार भएको बताएकी हुन् ।
जेन-जी आन्दोलन परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा शुरु भएको उनको भनाइ छ । आन्दोलनमा जेनजीहरुको ठूलो संख्यामा बलिदानी भएको रावलले बताईन् । जेन-जीहरुको बलिदानीको रक्षा गर्न उनीहरुको एजेण्डालाई अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने उनको धारणा छ ।
रावलले मृतक परिवारको व्यवस्थापन, घाइतेहरुको जीविकोपार्जन, उपचारको ग्यारेन्टी, सुरक्षा लगायतको व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिएकी छन् ।
जेन-जी आन्दोलनको बलिदानी खेर जाने अवस्था भएमा आफू फेरि गोली खान तयार रहेको तर अभिभावकको तर्फबाट यो आन्दोलनलाई पछाडी हट्न नदिने उनको भनाई छ ।
उनले भनिन्, ‘जेन-जी आन्दोलनमा परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा जेनजीहरुले जो आन्दोलन शुरु गरेका छन् । यो आन्दोलनले बलिदानी भएको छ, जेनजीहरुको ठूलो संख्यामा । अझै हजारौँको संख्यामा घाईतेहरु हुनुुहुन्छ । उहाँहरुको यो वलिदानीको रक्षा होस् । यो बलिदानी, यो रगत खेर नजाओस् । यसले जुन एजेण्डा लिएको थियो, यो एजेण्डाको अहिलेको सरकारले सम्बोधन गरोस् र मृतक परिवारको व्यवस्थापन होस् । घाईतेहरुको जीविकोपार्जनदेखि लिएर उपचारको ग्यारेन्टी गरिनुपर्दछ । हामी अभिभावकको तर्फबाट यो आन्दोलनलाई पछाडी हट्न दिनेवाला छैनौँ ।’
देशमै रोजगारी सिर्जना हुनुपर्ने, आन्दोलनका क्रममा घाईते भएकाहरुको दीर्घकालिन उपचार गर्नुपर्ने, २०४६ सालपछिका उच्चपदस्थ व्यक्ति तथा कर्मचारीहरुमाथी छानविन गरि कारबाही गर्नुपर्ने, आन्दोलनमा गोली चलाउन आदेश दिनेलाई कारबाही गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखको व्यवस्था गर्नुपर्ने लगायतका माग जेन–जी आन्दोलनको घाइते परिवारको छ ।