
काठमाडौं । उडायो सपना सबै जेनजीले भने जस्तै हाल भएको छ, पुराना राजनीतिक दलको । संघीय राजधानीमा शानको जिवन बिताइरहेका नेताहरु करोडबाट रोडमा आएका छन् । यद्यपि, उनीहरुसँग भएको भौतिक सम्पत्ति मात्रै जेनजी आन्दोलनले खरानी बनाए पनि चल सम्पत्ति सुरक्षित नै होला ।
सधै जसो सुरक्षाकर्मीको स्यालुटसँगै सुरु हुने नेताको दैनिकी अहिले फेरिएको छ । चिरिच्याट्ट पहिरनमा अघिपछि दुई÷चार जना भिजिलान्ते बोकेर शान देखाउनेको हैसियत जेनजीले देखाइसके । यो देशलाई जुकाले खुन चुसे जस्तै चुस्ने नेताहरुलाई सबक सिकाउनै पर्ने थियो । जुन जेनजीले ग¥यो । नरम रुपमा आफ्ना माग राख्दा कानमा तेल हाल्ने नेतृत्वलाई लखेट्नुको विकल्प थिएन । यसमा पनि जेनजी सफल भए । तर, २७ घण्टामा ऐतिहासिक परिवर्तन ल्याउने जेनजीको भावनालाई बेवास्ता गर्न मिल्दैन ।
जेनजीको माग शीर्ष नेतृत्व जस्तै ओली, देउवा र दाहाललाई सक्रिय राजनीतिबाटै विस्तापित गर्नु पनि हो । यसको मतलब मुलुकको नेतृत्व युवाको हातमा आउनुपर्छ । तर, पुराना राजनीतिक दल, नेतत्व र तिनका आसेपासे सक्किन तयार छन्, सच्चिन सक्दैनन् ।
जेनजी आन्दोलनले मुलुकमा आमूल परिवर्तन ल्यइदियो । हाल प्राप्त भएका उपलब्धि संस्थागत गर्ने सम्बन्धमा प्रश्न जरुर छ । तर, यो प्राप्ति जेनजी आन्दोलन बाहेक अन्य मार्गबाट सम्भव थिएन । जेनजीले नयाँ पुस्तामा परिवर्तनको भोक मात्रै देखाएन्, उनीहरुले वर्षैंदेखि नागरिकका मुद्धामा नजरअन्दाज गर्ने र आफ्नो स्वार्थ केन्द्रीत काममा ध्यान दिने राजनीतिक दल र तिनका नेता कार्यकर्ताको आँखा, कानसमेत खोलिदिए । जसमध्यमै पर्छन्, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा ।
विद्यार्थी राजनीतिबाट उदायका, राजतन्त्र ढाल्न फ्रन्ट लाइनमा देखिएका, प्रहरीलाई ढुंगा हानेर चर्चा कमाएका र २०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका थापाले मुलुकको मुहार फर्न भने खासै लछारपाटो लगाउन सकेनन् । उनी एक पटक स्वास्थ्य मन्त्रीसमेत भए । तर, उनको कार्यकाल अरु जस्तै विवादीत नै बन्यो । उनी आफैले पछिल्ला दिनमा एकपछि अर्को भिडियो सन्देश सार्वजिक गर्दै गल्ती स्वीकार गरिरहेका छन् । दुई हात जोडेर माफी मागिरहेका छन् । अनि पार्टी पुर्नगठन र रुपान्तरणको नारा लगाइरहेका छन् । गगनको अभिव्यक्ति सुन्दा लाग्छ, उनी त्रसित छन् । विरसत बोकेको पार्टी विलिन हुने अवस्थामा पुगेको आभास भइरहेको छ, उनलाई ।
आफूप्रति कांग्रेसी जनले गरेको विश्वास जेनजीको आक्रोशले जलिसकेको भयले ग्रसित छन्, गगन । पार्टी रुपान्तरण र पुर्नगठन गर्नुपर्ने भन्दै उनले आफू साधारण सदस्य बन्न तयार रहेको बताइरहेका छन् । जसका लागि उनले पार्टी सदस्यसामू दुई वटा विकल्प राखेका छन् । एक, नियमित महाधिवेशन र अर्को विशेष महाधिवेशन । यसबाट नै नयाँ नेतृत्व छान्नु पर्ने र पुरानो पुस्ताले विश्रम लिनुपर्ने अडान गगनले पेश गरेका छन् ।
यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालको बेडमा छन् । जेनजी आन्दोलनकारीबाट निर्घात कुटिएका देउवाको उपचार भइरहेको छ । यहीँ बेला गगनले नयाँ नेतृत्वको बहस छेडेपछि दोस्रो पुस्ताका नेताहरु आक्रोशित मात्रै छैनन्, अझै पनि देउवालाई नै नेतृत्व मान्नु पर्ने आशयको अभिव्यक्ति दिइरहेका छन् । देउवाले नै राजनीतिक हैसियत बनाइरहेका नेताहरुले यत्तिको नुनको सोझो गर्नुपर्ने ठिकै हो ।
खासगरी नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति देउवाले नेतृत्व छोड्नुपर्छ भन्ने बहस अनुचित भएको टिप्पणी गरे । निजी निवासमा पत्रकार सम्मेलन गर्दै महतले देउवाको स्वास्थ्य उपचार पूरा नहुँदै नेतृत्वको प्रश्न उठाउनु अमानवीय भएको दलिल प्रस्तुत गरे । महतका अनुसार अहिलेको प्राथमिकता पार्टीलाई एकजुट बनाउन र कमजोरी हटाउनमा हुनुपर्छ । उनले आलो घाउमा नुन छर्ने शैली गलत भएको उल्लेख गर्दै, अभिभावकमाथि प्रहार भएको बेला उपचार हुन दिँदा आकाश खस्छ र ? भन्ने प्रश्न गरे ।
पार्टी महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने विषयमा महतले पदाधिकारीकै सामूहिक जिम्मेवारी हुने दाबी गरे । संविधानसम्मत बाटोबाट सरकार गठन हुन नसक्नु दुःखद् भएको भन्दै महतले अब ढिलाइ नगरी लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्ने प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिए । महत अझै पनि डाडाँ पारीको घाम भइसकेका देउवाकै बचाउ छन् । आन्दोलनकारीबाट कुटिएका देउवाप्रति सहानुभूती देखाउनु मानविय स्वभाव हो । तर, पार्टी नेतृत्व परिवर्तनको बहसलाई दबाउन खोज्नु देउवाको चाकरी र अन्धभक्तको नमूना हो ।
नेपाली कांग्रेसमा रुपान्तरण र नेतृत्व हस्तान्तरणको बहस केही समय अघि नै सुरु भएको हो । तर, नयाँ पुस्ताले हस्तक्षेप गर्न नसकेको तथ्य जगजाहेर छ । दोस्रो र तेस्रो पुस्ताले नेतृत्व सम्हाले पनि जेनजी पुस्ताको माग अनुसार उनीहरु अघि बढ्छन् भन्ने के ग्यारेन्टि ?