
काठमाडौं । रुकुमपश्चिमबाट दाङका लागि छुटेको फोर्स गाडी आज आइतबार बिहान सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहान करिब ४ बजेतिर राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ को चोरखोलामा फोर्स गाडी दुर्घटनामा परेको हो ।
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकाबाट दाङ घोराहीतर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा एक जना महिला र दुई पुरुष छन् । मृतकमध्ये एक जना बाँफीकोट गाउँपालिका–५ का प्रकाश केसी रहेको प्रहरीले जनाएको छ । अन्यको परिचय खुलेको छैन । सडकबाट करिब तीन–चार सय मिटर तल खसेको फोर्समा पाँच जना सवार रहेको खुलेको छ ।
घाइतेमध्ये एक जना महिला र अर्का एक जना पुरुष छन् । उनीहरूलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।