
काठमाडौं । अहिले कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बुलेटिन निकालेर कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको जानकारी गराएको हो । वर्षाका कारण अबको केही घण्टामा कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने विभागले जनाएको छ ।
विभागले अब केही घण्टा विशेषगरी कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिएको भन्दै सावधानी अपनाउन भनेको छ । वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।
पछिल्लो ६ घण्टामा पर्साको विरगञ्जमा ६४ मिलिमिटर वर्षा मापन भएको छ । गोदावरीको ललितपुरमा ४१ मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ ।
महाशाखाले आज र भोलि मुसल्धारेदेखि आरिघोप्टे वर्षाको चेतावनी दिएको छ । भरे राति अझ धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मुसल्धारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको हो ।