
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकार क्रान्तिपछि बनेको सरकार हो भन्दै बकबक नगर्न चेतावनी दिएका छन् ।
माइतीघर मण्डलामा एकजना युवा मदन बुढाको अनसन तोडाउने क्रममा उनले यो क्रान्तिकारी सरकार भएकाले कसैलाई बकबक नगर्न भनेका हुन् ।
उनले यो सरकारको काम भ्रष्टाचारीलाई कारबाही गर्ने भएकाले उनीहरूलाई कारबाही गर्दा चुनावको वातावरण बिथोलिन्छ भन्ने तर्क स्वीकार्य नभएको बताए ।
अर्यालले भने, ‘यो क्रान्तिपछिको सरकार हो । कोही कन्फ्युजनमा नहुन् । अहिले बकबक गरिरहेका मानिस पनि कन्फ्युजनमा होलान्, यो क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार हो । यो सरकारले भ्रष्टाचारी खोज्न पाउँदैन, शान्ति सुरक्षा राख्न पाउँदैन,चुनाव बिथोलिन्छ भन्न पाइँदैन । यो सरकारले चुनाव पनि गराउँछ तर शान्ति सुरक्षा र भ्रष्टाचार निर्मूल गर्ने हाम्रो काम हो ।’
कुनै नेता वा दलको नाम नलिए पनि उनले राजनीतिक दलका नेताहरूलाई लक्षित गरेर बकबक नगर्न भनेका हुन् । अर्यालले भ्रष्टाचारको छानबिन हुने र नागरिकसँग मिलेर यो सरकारले काम गर्ने दाबी गरेका छन् ।