
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ ।
बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि नवीकरण नगरेकालाई अतिरिक्त शूल्क लिने व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी तथा दर्ता अधिकारी सबैलाई निर्देशन भएको छ । बोर्डले पछिल्लो विकसित अवस्था तथा बोर्डलाई आवश्यक संरचना तयार गर्न थप समय लाग्ने भएकाले यो निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको छ । यो निर्णयसँगै स्वास्थ्य बीमा गरेर लामो समयदेखि नवीकरण नगरेकाहरूले अब नवीकरण गर्दा थप शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ ।
यसअघि बोर्डले गएको भदौ ११ गते सूचनामार्फत् स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयन भएको र त्यसमा बीमित परिवारले असोज मसान्तसम्म नवीकरण नगरेमा त्यसपछि थप शुल्क तिर्नुपर्ने भन्दै रकम समेत तोकेको थियो । म्याद कटेर तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्ने, ६ महिनाभित्र नवीकरुण गरेमा ३० प्रतिशत, ६ महिनापछि एक वर्षभित्र नवीकरण भए ५० प्रतिशत, एक वर्षपछि भएमा शतप्रतिशत, दुई वर्षपछि भएमा तीन गुणा बढी र तीन वर्षपछि भएमा योगदान रकमको चार गुणा बढी तिर्नुपर्ने भनिएको थियो ।