images

टिकटक बनाउन कुपिन्डे दहमा पसेका युवा फर्किन सकेनन्

सल्यान । टिकटक बनाउन भनेर सल्यानको कुपिन्डे दहमा पसेका युवा डुबेर बेत्तपा भएका छन्।

वनगाड कुपिन्डे नगरपालिका- ८ बाबियाचौरस्थित कुपिन्डे दहमा पसेका ३७ वर्षीय वेदबहादुर बस्नेतको अहिले खोजी भइरहेको छ। सल्यान कपुरकोट ६ का उनी अहिले दाङको तुलसीपुरमा बस्दै आएका थिए।

सल्यान प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार बस्नेत मंगलबार दिउँसो साढे १२ बजेतिर टिकटक बनाउने भन्दै कुपिन्डे दहमा गएका थिए।

उनी धादिङका मूलबहादुर तामाङसँगै त्यहाँ पुगेका थिए। वैदेशिक रोजगारीका क्रममा दुबईमा चिनजान भएका तामाङलाई घुमाउने भन्दै बस्नेत सल्यान गएका थिए।

बस्नेत आफू दहमा पसेर टिकटकका लागि साथीलाई भिडिओ खिच्न लगाएका थिए। केहीबेर भिडिओ खिचेपछि उनी गहिरो भागतिर गएको र फर्किन नसकेको तामाङले बताए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाउनासाथ प्रहरी सहायक निरीक्षक सनतकुमार शाहको कमाण्डमा चार जना र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक सन्तोष खनालको कमाण्डमा थप पाँच जनाको टोली परिचालन भएको छ।

घटनास्थल पुगेका प्रहरीमध्ये कोही पनि राम्रो पौडीबाज नभएको हुँदा खोजीका लागि दहमा भने कोही पसेका छैनन्। जिल्ला प्रहरी प्रमुख खड्काले बाहिरी जिल्लाबाट गोताखोर बोलाउनका लागि पहल भइरहेको जानकारी दिए।

कुपिन्डे दहमा २०७५ सालमा पनि एक युवक बेपत्ता भएको २८ दिन पछि फेला परेका थिए।