images

नेपाली नर्सलाई बेलायत पठाउने धन्दामा लागेका दलालहरुलाई श्रम मन्त्रालयको चेतावनी

काठमाडौं, १२ असोज । श्रम मन्त्रालयले नेपाली नर्सलाई बेलायत पठाउन दलाल लागेपछि कारबाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डण्डुराज घिमिरेले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन ।

केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुमा नेपाली नर्सहरुलाई बेलायतमा रोजगारीका लागि सरकारका अधिकारीहरुसँग समन्वय गराइदिन्छु भन्दै झुटो आश्वासन दिएर ठगी गरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको घिमिरेले जनाएका छन् । यस्ता कार्यले सुरक्षित र व्यवस्थित आप्रवसान नीति कार्यान्वयनमा जटिलता आउने भन्दै संलग्न व्यक्ति वा संस्थालाई यस्तो कार्य नगर्न र नगराउन मन्त्रालयले सचेत पनि गराएको छ । अन्यथा, वैदैशिक रोजगार ऐन, २०६४ र अन्य सम्वद्ध कानूनबमोजिम कडा कारबाही हुने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि पठाउन विषयमा बेलायत सरकार सम्बद्ध अधिकारीहरुसँग निरन्तर वार्ता गरी कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने कार्य भइरहेको प्रवक्ता घिमिरेले उल्लेख गर्नुभएको छ ।