images

३६ वर्षपछि मेसीको कप्तानीमा अर्जेन्टिना बन्यो विश्व विजेता

काठमाडौँ, ४ पुस । फ्रान्सलाई पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको छ।

कतारको लुसैल स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा पराजित गरेको हो । साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराएसँगै अर्जेन्टिनाका कप्तान मेस्सीको विश्वकप सपना पूरा भएको छ । 

अजेन्टिनाले खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा फ्रान्सले २ गोल गरेपछि खेल निर्धारित समयमा २–२ को बराबरी भयो । त्यसपछि थप गरिएको अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भयो। अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

खेलको ३६ औँ मिनेटमा फरवार्ड एञ्जल डि मारियाले उत्कृष्ट गोल गरे । लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका थिए । त्यसअघि खेलको २३ औँ मिनेटमा नै अजेन्टिनाले पेनाल्टी मौका पाएको थियो । उक्त मौकालाई कप्तान लियोनल मेस्सीले राम्रो सदुपयोग गर्दै गोल गरेका थिए । फ्रान्सका डेम्बेलेले डि मारियालाई डिबक्समा लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। जुन अवसरलाई मेस्सीले खेर जान दिएनन्।

त्यसपछि खेलको दोस्रो हाफको ८० औँ मिनेटमा फ्रान्सले पनि पेनाल्टी अवसर पायो । उक्त अवसरमा केलियन एम्बाप्पेले गोल गरेर फ्रान्सलाई २–१ को अवस्थामा ल्याए। त्यसको १ मिनेटमा नै एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए।

निकै रोचक बनेको खेलको १०९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ३–२ को अवस्थामा ल्याए।

तर, ११८ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक गर्दै फ्रान्सलाई पुनः बराबरीमा ल्याए। जारी विश्वकपमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी भए । यसअघि पोर्चुगलका गोन्कालो रामोसले स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका थिए।

अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो।
यता उपाधि रक्षा गर्ने होडमा रहेको फ्रान्सले भने तेस्रो पटक विश्वकपको उपाधि जित्ने सुवर्ण मौका गुमायो। यसअघिको खेलमा आक्रामक प्रर्दशन गर्दै आएको फ्रान्स पहिलो हाफमा खुलेर खेल्न सकेन।

फ्रान्सले यसअघि सन् १९९८ मा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो। पछिल्लो पटक २०१८ मा क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप उचालेको थियो।