images

अमेरिकाको क्यालिफोर्नियामा गोली प्रहार हुँदा ७ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा गोली प्रहार हुँदा ७ जनाको मृत्यु भएको छ ।

घटनामा ८ जना घाइते भएका छन् । हाफ मुन बेमा भएको दुई वटा छुट्टाछुट्टै गोली प्रहार हुँदा ७ जनाको मृत्यु भएको हो ।

प्रहरीले ६७ वर्षीय चिनियाँ मूलका चाओ चुन लीलाई पक्राउ गरेको छ । पार्किङमा रहेको उनको कारबाट प्रहरीले बन्दुक र पेस्तोल बरामद गरेको छ । क्यालिफोर्नियमा ३ दिनमा भएको यो दोस्रो गोली प्रहार हो ।

३ दिन अघि चिनियाँ नयाँ वर्ष मनाउने क्रममा एउटा डान्स रेष्टुराँमा अन्धाधुन्ध गोली प्रहार हुँदा ११ जनाको मृत्यु भएको थियो । उक्त घटना सेलाउन नपाउँदै अर्को गोली प्रहार भएको हो । सोमबार भएको गोली प्रहारको पहिलो घटना एउटा च्याउ फार्ममा भएको थियो । जहाँ ४ जनाको मृत्यु भएको छ ।

त्यसको नजिकै सामान लोड गर्ने स्थानमा भएको गोली प्रहारबाट ३ जनाको मृत्यु भएको हो । यी दुवै घटनामा ८ जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले बताएका छन् । मृतक र घाइतेहरु सबै जना चिनियाँ मूलका कामदार भएको जनाइएको छ ।