images

सर्वोच्च परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन, के पदबाट हटाइएलान गृहमन्त्री लामिछाने?

काठमाडौँ, १३ माघ । सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद मुद्दाको फैसला आजै हुने तयारी भइरहेकोले सर्वोच्च परिसरमा सुरक्षा सतर्कता बढाइएको हो ।

फैसला आजै आउने सम्भावना बढेसँगै सर्वोच्च परिसरमा थप सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सर्वोच्चको मूलगेटदेखि रामशाहपथको सडक क्षेत्रमा पनि नेपाल प्रहरीको टोली आवश्यक बन्दोवस्तीमा सामानसहित तैनाथ भएका छन्।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ आजै सकिएको छ । अन्तिम सुनुवाई सकिएसँगै न्यायाधिशहरु आदेशका लागि छलफलमा जुटेका छन् ।

मुद्दामा सर्वोच्चले आदेश दिने या आदेशका लागि अर्को मिति तोक्न सक्ने बताइएको छ।