images

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले राष्ट्रिय सम्मान गर्ने

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेकाहरूलाई राष्ट्रिय सम्मान गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन आह्वान गरेको हो ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई उनीहरूको योगदानको कदर स्वरूप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्नका खोजिएको मन्त्रालयले जनाएको छ ।

उद्यमीहरूले यही माघ १९ गतेसम्म मन्त्रालयमा आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा विदेशमा एक वर्ष काम गरी स्वदेश फर्किएको हुनु पर्ने छ भने वैदेशिक रोजगारीबाट नेपाल फर्किएर व्यवसाय सञ्चालन गरेको पनि एक वर्ष पूरा भएको हुनुपर्छ ।

अघिल्ला वर्षहरूमा यही पुरस्कारको लागि आवेदन दिएको तर छनौटमा नपरेका उद्यमीहरूले समेत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । आवेदन फारम र यस सम्बन्धी कार्यविधिसमेत मन्त्रालयको वेबसाइटमा उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।