images

ऐन नबन्दा गेटा मेडिकल कलेज सञ्चालनमा अन्यौलता

कैलाली । कैलालीमा गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भवनहरु तयार भएपनि सञ्चालनको प्रारुप बन्न नसक्दा सञ्चालनमा अझै अन्यौलता छ ।

सरकारले मेडिकल कलेज कुन मोडेलमा सञ्चालन गर्ने भन्ने नै टुङ्गोे लगाएको छैन । मेडिकल कलेज, मेडिकल विश्वविद्यालय वा प्रतिष्ठान के बनाउने भन्ने टुङ्गो नलाग्दा सञ्चालनमा अन्यौलता देखिएको हो ।

अस्पताल, कलेज, छात्रवास, आवासलगायत भवनहरु तयार भइसकेका छन् ।

गेटामा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भौतिक संरचना बनिसके पनि सञ्चालनको नीतिगत व्यवस्था हुन सकेको छैन । जसले गर्दा मेडिकल कलेज सञ्चालनमा अझै अन्यौलता कायम छ ।

गेटा मेडिकल कलेज संचालनको मोडलबारे अझै टुंगो लाग्न सकेको छैन । सरकारले ४ जना डाक्टरको दरबन्दी पदपूर्ति गरेको भएपनि सञ्चालनको टुंगो भने लगाउन सकेन ।

तत्काल प्रारुप तय गरेर सञ्चालन प्रकृया अगाडि बढाउन यहाँका स्थानीयको माग छ । नेताहरुले मेडिकल कलेजलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गर्ने गरेको उनीहरुको आरोप छ ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिममा थुप्रैपटक आन्दोलनसमेत भइसकेका छन् । आन्दोलनलाई मथ्थर पार्न सरकारले केही आश्वासन मात्रै दिने र काम अगाडि नबढाउने समस्या छ ।

गेटा मेडिकल कलेजलाई लिइएको भएपनि अहिलेसम्म सञ्चालनमा नआउँदा पूर्वाधार नै प्रयोगविहीन हुन पुगेका छन् । मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाएर सञ्चालनमा ल्याउनुपर्ने आन्दोलनका अगुवा रविन कान्त पन्तको भनाइ छ ।

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रुपमा सञ्चालन गर्नुपर्ने माग जोडदारका रुपमा उठिरहेको छ । नीतिगत व्यवस्था अगाडि बढाउँदै सर्वप्रथम अस्पताल सेवा सुचारु गर्नुपर्ने नेपाल चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रदीप मिश्रको भनाइ छ ।

गेटा मेडिकल कलेजलाई कुन मोडेलमा सञ्चालन गर्ने भनेर ऐन नबन्दा नै अन्यौलता सिर्जना भएको हो ।अस्पताल, कलेज सञ्चालनका लागि आवश्यक भवन लगायतका लागि २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेका छन् ।

ऐन निर्माण गरि सञ्चालन गर्न आफूले सक्दो पहल गरिरहेको मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारा बताउँछन् ।

मेडिकल कलेजको गुरुयोजनामा आर्थिक वर्ष २०७६/०७७ मा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर पूर्वाधार निर्माणमा ढिलाइ भएपछि सञ्चालनको लक्ष्य २०७८ मा सारिएको थियो ।

सरकारले २०६६ सालमा गेटा मेडिकल कलेज स्थापनाको निर्णय गरे पनि रुख कटानको आदेश नपाउँदा लामो समयसम्म पूर्वाधार निर्माण शुरु हुन सकेको थिएन ।

रुख कटानको आदेश पाएसँगै २०७३ बैशाखदेखि नयाँ संरचना निर्माणको काम शुरु भएको हो ।

धनगढी र अत्तरियाको बीचमा पर्ने गेटास्थित ५१ दशमलव ८ हेक्टर क्षेत्रमा संरचनाहरु बनेका छन् । सञ्चालनमा भइरहेको ढिलाइले बनेका संरचनाहरु पनि जीर्ण बन्ने जोखिम छ ।