images

क्रिकेटर लामिछानेको मुद्दामा सर्वोच्च दियो सबै कागजात झिकाउन आदेश

काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन आदेश दिएको हो ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको थियो । निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ ।

नेपाल सरकारको तर्फबाट नायब महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने उल्लेख छ ।

लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो । सो आदेश अनुसार २९ पुसमा रिहा भएका थिए । मंगलबार लामिछाने लाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन परेको थियो ।