images

तत्काल चितवनका किसानको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । चितवनका किसानले सडकमा तरकारी फालेको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो देखाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका किसानको माग तत्काल सम्बोधन गर्न निर्देशन समेत दिनुभएको छ ।

उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको घटनाप्रति चासो राख्दै प्रधानमन्त्री प्रचण्डले शनिबार किसानका माग सम्बोधन गर्न कृषि तथा पशुपन्छी मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

शुक्रबार चितवनका किसानले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेका थिए । यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सरोकारवाला किसानसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिनुभएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताउनुभएको छ ।