images

६ महिनामा ५ खर्ब बढी रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिनेको संख्या ६४.६ प्रतिशतले बृद्धि

काठमार्डौ । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको हो ।

वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धिसँगै रेमिट्यान्स पनि बढेको हो । यस्तै सोधानान्तर स्थिति पनि बढेको छ ।

चालू ६ महिनामा सोधानान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको सोधानान्तर स्थिति यो ६ महिनामा ७३ करोड ४४ लाखले बचतमा रहेको छ । तर, चालू खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । यो घाटा पनि केही साँघुरिएको देखिन्छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेको छ , पुससम्म २ लाख ७५ हजार ६४३ जना श्रमिक नयाँ भिसा लिएर विदेशमा पुगेका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।